पान्धारे प्रहरी चौकीको कार्यक्षमता स्तरवृद्वि गरी इलाका चौकीको माग

पान्धारे चौकी ……….. माया पो नलाई बा मरिन्छ कि’ एक समय गाउँघरमा जनजनको मुखमा झुण्डिएको गीत हो यो । गीतमा उल्लेखित पाँचधारे चौकी भोजपुर जिल्ला टेम्केमैयुङ गाउँपालिका वडा न ९ लेखर्कमा पर्छ । पर्यटकीय, सास्कृतिक, धार्मिक स्थल पान्धारेमा रहेको पान्धारे चौकीलाई भोजपुर जिल्लाकै सबै भन्दा पुरानो चौकीको रुपमा लिइन्छ्। यो चौकी अहिले भएको स्थानभन्दा अलिक पर रानीभञ्ज्याङ देउराली डाँडामा रहेको थियो। हाल भग्नावशेषको रुपमा यो चौकीको पुरानो स्थानको अवस्थिति अझै पनि देख्न सकिन्छ। यो चौकीको स्थापना हुनुभन्दा अघि तत्कालीन अवस्थामा गाउँको सुरक्षा गर्नको लागि स्थानीय युवाहरु घरेलु हतियारहरु भाला, खुकुरी, बन्दुक लिएर घन्टे पालो बाँधेर सुरक्षार्थ खटिने गरेका थिए भनेर स्थानीय बुडा पाकाहरु बताउनुहुन्छ्। ऐतिहासिक रुपमा पाँचधारे आर्थिक कारोबार तथा राजनैतिक सामाजिक, दृष्टिकोणबाट पनि महत्वपूर्ण मानिन्छ । यो स्थान भोजपुर खोटाङको सिमाना स्थल साथै विभिन्न जिल्ला जाने पुरानो गौडा पनि भएको कारण यस ठाउँलाई सुरक्षाका दृष्टिले संवेदनशील मानिन्छ ।

यस ठाउँमा मानिसहरू आवत जावत गर्ने तथा आन्तरिक पर्यटनका दृष्टिले महत्वपूर्ण भएकोले शान्ती सुरक्षाको लागि पनि चौकी स्थापना भएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्ग बताउनु हुन्छ। देशमा भएका हरेक राजनैतिक आन्दोलन र परिवर्तनमा कुनै न कुनै रुपमा पाँचधारेको योगदान र प्रभाव उत्तिकै रहेको विचार अध्यक्ष माङ्गपाहाङ्गको छ ।

जनयुद्धको समयमा तत्कालीन भूमिगत माओबादीले यस ठाउँलाई किरात प्रदेशको प्रस्तावित राजधानी समेत घोषणा गरेका थिए । २०१७ सालमा विद्रोही काँग्रेस सेनाहरूले यहाँ तालिम लिने दिने गरेको कुरा स्थानीय वृध्द तुलसीराम लुईँटेल बताउनुहुन्छ ‌। यस चौकीलाई हालको स्थानमा भने २०१८ साल साउन महिनामा तत्कालीन बडाहाकिम छिरिङ तेन्जिङ शेर्पा, इन्सपेक्टर महेन्द्र राईले स्थानान्तरण गरी उद्वघाटन गरेको कुरा स्थानीय बयोवृध्द श्रीबहादुर राई बताउनुहुन्छ । हाल यस चौकीमा असइको कमाण्ड रहने गरेको छ ।

तत्कालीन समयमा तृतीया बजार हाल आएर प्रत्येक महिनाको १० गते र २५ गते लाग्ने पान्धारे बजारमा शान्ती सुरक्षा गर्न चौकीको स्थापना भए पनि अहिले आएर यस्को स्तर बृद्वि गर्नु पर्ने आवश्यकता रहेको स्थानीय अधिराज राई बताउनु हुन्छ्। मुन्दुम पदमार्गको प्रारम्भ बिन्दु यसै स्थानबाट हुने, नमुना बस्तिको परिकल्पना भएको, ऐतिहासिक पुरातात्विक पाँचधारे पोखरी रहेको, निर्माणाधीन किरातेश्वर ढुङ्गे बगैँचा, नजिकै रहेको पर्यटकीय स्थल तावा भन्ज्याङ्म, निर्माणाधीन तावाताल साथै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएको कारण हालको प्रहरी चौकीको कार्यक्षमता स्तरवृद्वि गरी इलाका चौकीको माग गरिएको र केन्द्र सरकार गृहमन्त्रालयमा पहल गरिएको वडाध्यक्ष माङ्गपाहाङ्ग बताउनु हुन्छ ।

1 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu